बार्सिलोनाको कठिन जित

बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले रियल मलोर्कालाई उसकै मैदानमा १–० को जित निकालेको हो ।

मलोर्कामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए ।

सिनियर टोलीका अधिकांश खेलाडी नरहेपनि बार्सिलोनाले जित हात पार्न सफल भएको हो । कोरोनाका कारण ७, प्रतिबन्धका कारण एक र चोटका कारण पाँच प्रमुख खेलाडी नरहेपनि बार्सिलोनाले महत्वपुर्ण जित निकाल्न सफल भएको हो । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि बार्सिलोनाले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

४४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनलाई सुरुवाती अग्रता दिलाए । उनले ओस्कर मिगुइजाको पासमा गोल गरेका थिए । दोस्रो हाफमा पनि बार्सिलोनाले गोलको थुप्र्रै अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा लुक डि जोङको पहिलो हाफको गोल नै निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित मलोर्का २० अंक जोडेर १५औं स्थानमा रहेको छ ।