बार्सिलोनाको इन्टर मिलानमाथि जित, इन्टर नकआउट चरणमा पुग्न असफल

च्याम्पियन्स लिगमा बार्सिलोनाले ईन्टर मिलानलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले सिरि ए क्लब ईन्टर मिलानलाई २–१ ले हराएको हो ।

बार्सिलोनासंग पराजित ईन्टरको च्याम्पियन्स लिगमा नकआउट चरण पुग्ने सम्भावना सकिएको छ ।

बार्सिलोना यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।

ईन्टरको हारले जर्मन क्लब बोरुसिया डर्टमण्ड अन्तिम १६ मा पुग्न सफल रह्यो ।

खेलको २३ औ मिनेटमा कार्लेस पेरेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

सिरि ए क्लब ईन्टरका रोमेलु लुकाकुले ४४ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

८६ औ मिनेटमा अंशु फातीले बार्सिलोनाका लागि विजयी गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा ८५ औ मिनेटमा मैदान छिरेका फातीले दोस्रो मिनेटमै गोल गर्न सफल भए । लुईस स्वारेजको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

फाती च्याम्पियन्स लिगको ईतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

सोही समूहको अर्को खेलमा डर्टमण्डले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले हरायो । र १० अंक सहित दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्यो ।

ईन्टर ७ अंक सहित तेस्रो स्थानमा रह्यो । शीर्ष स्थानको बार्सिलोनाको १४ अंक रह्यो ।