बार्सिलोनाका लागि अरू क्लबको अफर तोड्न सक्छु – राकिटिक

बार्सिलोनका मिडफिल्डर इभान राकिटिकले क्यापनाउ छोडेर अन्य क्लब नजाने संकेत दिएका छन् । अरू क्लबको अफर बार्सिलोनाको लागि तोड्ने सक्ने भन्दै उनले पेरिस सेन्ट जर्मेन नजाने जस्तो संकेत दिएका हुन् ।

पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च च्याम्पियन क्लब पीएसजी जाने चर्चा चलिरहेका बेला राकिटिकले बार्सिलोना नछोड्ने संकेत दिएका हुन् । रसिया विश्वकपमा क्रोयसियालाई उपविजेता बनाउन उल्लेख्य भूमिका निभाएका ३० वर्षीय राकिटिक बार्सिलोनाका लागि महत्त्वपूर्ण खेलाडी मानिन्छन् ।

गत शनीबारको ला लिगाअन्तर्गतको खेल १–० ले जितेपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘म यहाँ बार्सिलोनामै खेल्दा गौरभान्वित छु । विश्वकै उत्कृष्ट क्लबबाट खेल्न पाउनु खुशीको कुरा हो । म मेरी पत्नि, मेरो परिवार र मेरो एजेन्ट सबैले यो निर्णय लिइसक्यौं कि हामी यहीं ठिक छौं ।’

उनले थपे, ‘ बार्सिलोनाको अफरको अगाडि अरू क्लबको अफर मेरो लागि केही पनि होइन । अरू क्लब जानु भन्दा पनि म मेरो आउँदो खेलका लागि तयारी गर्दछु । ’
यसैबीच बार्सिलोना प्रशिक्षक अर्नेस्टो भालभेर्डेले पनि राकिटिकले क्लब नछोड्ने बताए ।