बार्सिलोनाका युवा खेलाडीले फातीले बनाए नयाँ कीर्तिमान

बार्सिलोनाका युवा खेलाडी अन्सु फातीले कीर्तिमानी गोल गरेका छन् । यसै सिजनबाट बार्सिलोनाको ला मासियाबाट सिनियर टिममा डेब्यु गरेका १६ वर्षीय फातीले क्लब बार्सिलोना र ला लिगाको इतिहासमै कीर्तिमानी गोल गरेका हुन् ।

शनिबार राति बार्सिलोनाले अवे मैदानमा ओसासुनासँग लिगको तेस्रो खेल खेल्दा फातीले निकै दर्शनीय तथा कीर्तिमानी गोल गरेका हुन् । बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेका बेला फातीलाई दोस्रो हाफको सुरुमै नेल्सन सेमेडोको स्थानमा मैदान छिराइएको थियो । जसमा उनले मैदान उत्रेको ६ मिनेटपछि अर्थात् ५१औं मिनेटमा गोल गरे । उनले कार्लेस पेरेजको आकर्षक पासमा बक्सभित्रबाट दर्शनीय रूपमा टाउकोले गोल गरेका थिए ।

यससँगै फाती बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरमा लिग गोल गर्ने पहिलो खेलाडी बनेका छन् । फाती गत साता क्याम्प नोउमा भएको लिगको दोस्रो खेलमा रियल बेटिसविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए ।

उनले सिनियर टिमका लागि खेलेको दोस्रो खेलमै गोल गरेर आफ्नो उदयको जनाउ दिइसकेका छन् । अब फाती बार्सिलोनाको इतिहासमै सबैभन्दा कान्छा गोलकर्ता खेलाडी नभएर ला लिगाको इतिहासमा पनि सबैभन्दा कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

पहिलो गोल गरेसँगै फातीको तारिफ सुरु हुन थालेको छ । उत्कृष्ट खेल कौशलका धनी फातीलाई क्याम्प नोउमा नयाँ उदीयमान स्टार खेलाडीका रूपमा लिन थालिएको छ ।