बार्सिलोनाका प्रशिक्षक भाल्भेर्डे भन्छन् : ‘मेस्सीलाई आराम दिएकोमा कुनै पछुतो छैन’

कोपा डेल रेको क्वार्टरफाइनल अन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले पराजय भोग्यो । बुधबार राति भएको सो खेलमा यस प्रतियोगिताको सर्वाधिक ३० पटकको उपाधि विजेता बार्सिलोनालालाई सेभिल्लालाई २–१ गोल अन्तरले सहजै हरायो ।

सेभिल्लाको घरेलु मैदानमा भएको सो खेलमा बार्सिलोनालाई हराउन पाबियो सरबिया र विसम बेन एड्डरले गोल गरेका थिए । गए रातिको खेलमा स्टार खेलाडी लियोनल मेस्सीले खेलेका थिएनन् भने बार्सिलोनाले दोस्रो हाफपछि मुख्य–मुख्य खेलाडी मैदान प्रवेश गराएको थियो ।

उसले खेलेको ६३ औं मिनेटमा नयाँ खेलाडी बोटेङलाई बाहिर निकाल्दै लुइस स्वारेजलाई मैदान प्रवेश गराएको थियो । यस्तै सोही समयमै माल्कोमको सट्टामा फिलिपे कौटिन्हो मैदान प्रवेश गर्दा ८० औं मिनेटमा नेल्सन सोमेडोलाई जोर्डी अल्बाले प्रतिस्थापन गरे । तर, पनि नतिजा भने निराशाजनक नै रह्यो बार्सिलोनाको लागि ।

बार्सिलोनाले हारेपछि क्लबका समर्थकले मेस्सीलाई नखेलाएका कारण नतिजा निराशाजन रहेको बताउँछन् । तर, क्लबका प्रशिक्षक अर्नेष्टो भाल्भेर्डेले भने स्टार मेस्सीविना खेलिएको सो खेल पश्चात बोल्दै आफूले मेस्सीलाई नखेलाएकोमा कुनै पश्चाताप नरहेको बताए ।

उनले भने, ‘हरेक पटक रिस्क हुन्छ, तर मैले यहि सुरुवाती ११ उपयुक्त लागेर मैदान उतारेको हुँ । ठीकै छ, अब अगाडिको खेलमा हामी जित निकाल्ने कोशिस गर्छौ । ’

यसअघि पनि यसै प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लेभान्टेसँगको बार्सा मेस्सीविना मैदानमा उत्रिएको थियो । सो खेलमा बार्साले २–१ ले हार बेहोर्नु परेको थियो । अब बार्सिलोनाले अन्तिम आठको दोस्रो लेगमा आफ्नै मैदानमा सेभिल्लालाई निम्त्याउने छ । यो खेल आउँदो बिहीबार हुँदैछ ।