बार्सिलोनाका प्रशिक्षकसँग मेस्सी रुष्ट, खुल्यो बेञ्चमा राख्नुको कारण

बार्सिलोनाले विगत तीन खेलमा जीत हासिल गर्न सकेको छैन । शनिवारको खेलमा एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

लियोनेल मेस्सीलाई बेन्चमा राखिएपछि बार्सिलोना टोली फितलो देखियो र घरेलु मैदान क्याम्प नूमा इज्जत जोगाउन मात्र सफल भयो ।

मेस्सीलाई बेन्चमा राख्ने प्रशिक्षक अर्नेस्टो भाल्भेर्देको निर्णयले सबैलाई आश्चर्यमा पार्यो ।

भाल्भेर्देले खेलको ६० मिनेट बितेपछि मात्र मेस्सीलाई मैदानमा उतारे । अनि म्याचको बाँकी समयमा मेस्सीको सुन्दर खेल दर्शकहरूले हेर्ने मौका पाए । उनले छोटो अवधिमा दुईवटा राम्रा शट हाने अनि बार्सिलोनाले बराबरीका लागि गरेको गोलमा असिस्ट गरे । मुनिर एल हदादीको गोलमा मेस्सीकै असिस्ट रह्यो ।

मेस्सीलाई बेन्चमा राखिनुको कारण बल्ल खुलेको छ । यो खेलाडीहरूको सामान्य रोटेसन त थियो नै तर त्यति मात्र नभई यो भाल्भेर्देले मेस्सीलाई दिएको सजाय पनि थियो ।

खासमा अघिल्लो म्याचमा लेगानेसविरुद्ध बार्सिलोनाको हार भएपछि भाल्भेर्देले सबै खेलाडीका लागि रात्रि भेटघाट कार्यक्रम आयोजना गरेर टीमको आगामी रणनीतिको चर्चा गर्ने प्रयास गरेका थिए । तर भाल्भेर्देको रणनीतिमा चित्त नबुझाएका मेस्सी उक्त रात्रि भेटघाट कार्यक्रममा जाँदै गएनन् ।

मेस्सी त्यस कार्यक्रममा नआएपछि रिसाएका भाल्भेर्देले उनलाई बेन्चमा राखे तर त्यो निर्णयका कारण बार्सिलोना दुई बहुमूल्य अंक गुमाउन बाध्य भयो । त्यसो त प्रतिस्पर्धी टोली रियाल मड्रिड पनि बार्सिलोनाकै जस्तो स्थितिमा छ र गोलअन्तरका कारण बार्सा नै अंकतालिकाको शीर्ष स्थानमा छ ।