बार्सिलोनाका कोउटिन्हो ३ साता मैदानबाहिर

कप्तान लिओनेल मेसी चोटका कारण मैदानबाहिर रहेको अवस्थामा बार्सिलोनालाई अर्को झट्का लागेको छ । ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन् ।

देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको स्वास्थ्य टोलीले कोउटिन्हो उपलब्ध नहुने जानकारी दिएको छ । मंगलबार भएको इन्टर मिलनविरुद्धको खेलमा कोउटिन्हो घाइते भएका थिए । उक्त खेल १-१ को बराबरीमा टुंगिएको थियो । खेलमा सुरुवाती रोजाईबाट खेलेका कोउटिन्हो पुरै ९० मिनेट नै मैदानमा बिताएका थिए ।

कोउटिन्होले स्पेनिस लिग अन्तर्गत आइतबार हुने रियल बेटिसविरुद्धको खेल गुमाउने पक्का भएको छ । त्यसपछि रहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दुई खेल खेल्दैछ । कोउटिन्होले दुवै खेल गुमाउने पक्का भएको छ । मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वे र क्यामरुनको सामना गर्दैछ । त्यसपछि नोइभेम्बर २४ मा लिगको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडसँग खेल्दैछ भने मध्यसातामा पीएसभीसँग च्याम्पियन्स लिग खेल खेल्नेछ ।