बार्साले डिफेन्समा सुधार गर्नुपर्छ : मेसी

ला लिगा च्याम्पियन बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीका अनुसार क्लबले आफ्नो डिफेन्समा सुधार गर्नुपर्ने बताएका छन् । स्मरणीय छ कि ला लिगातर्फ शनिबार राती बार्सिलोना घरेलु मैदान नोउ क्याम्प मै एथलेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको थियो ।

च्याम्पियन्स लिगतर्फ बुधबार राती टोटेनह्याम विरुद्ध हुने खेललाई मध्यनजर गर्दै बार्सिलोनाका म्यानेजर अर्नेष्टो भाल्भेर्डेले मेसीलाई आराम दिएका थिए । तर म्यानेजर भाल्भेर्डेको त्यो निर्णय बार्सालाई महँगो भईदिन पुग्यो ।

शनिबार सम्पन्न सो खेलमा ओस्कार डि मार्कोसको गोलबाट एथलेटिकले अप्रत्याशित अग्रता लिएको थियो । साथै एथलेटिकको अग्रपंक्ति पनि उत्कृष्ट देखिएको थियो । यद्यपि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मेसीको पास मै मुनिर अल हदादीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए र घरेलु टोलीको सम्भावित हार टारे ।

सो खेलपश्चात अर्जेन्टिनी स्टार बार्साको डिफेन्स लाईनसँग असन्तुष्ट देखिए । फोरफोरटुका अनुसार मेसीसँग बार्सिलोनामा आत्मविश्वासको कमी छ ? भनेर सोधिएको प्रश्नमा मेसीले भनेका छन्, “यहाँ केही चिन्ता छैन । यो केवल सिजनको शुरुवात हो । बरु हाम्रो पछिल्लो दुई नतिजाले हामीलाई रिस उठाएको छ ।

लेगानेस विरुद्ध हामीले म्याचको पहिलो हाफ राम्रो खेल्यौं र हामी पराजित भयौं । हामीले जित्ने परिस्थिति पनि बनायौं । हामीले हाम्रो डिफेन्सलाई अझै बलियो बनाउनुपर्छ भन्ने कुराबाट हामी अनभिज्ञ छौं । साथै हामीलाई प्रत्येक खेलमा गोल खानु छैन ।”