बार्साको नजर ब्राजिलियन स्ट्राइकरमा

ला लिगा क्लब बार्सिलोना हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ। मुटुको समस्याको कारण फुटबल छोड्न लागेका सर्जियो अग्वेरोको विकल्पको रुपमा नयाँ स्ट्राइकर साइन गर्ने योजना बार्साको रहेको छ र हाल खबर अनुसार एफसी बासेलका ब्राजिलियन स्ट्राइकर आर्थर काब्राल माथि बार्साको नजर छ।

ब्राजिलियन स्ट्राइकर क्लबको नयाँ नम्बर ९ बन्ने मुख्य दाबेदारको रुपमा रहेको रिपोर्ट छ भने उनलाई साइन गर्न बार्साले पूर्ण प्रयास गर्ने जानकारी छ।

काब्राल २०१९मा ब्राजिलियन क्लब पाल्मिरासबाट स्विस पक्षमा सामेल भएका थिए र सबै प्रतियोगिताहरूमा यो सिजनमा अहिलेसम्म २३ गोल र ८ असिस्टको साथ काब्राल उत्कृष्ट फममा रहेका छन्। काब्राललाई साइन गर्न बार्सालाई क्लब लेजेन्द र हेड स्काउट डेकोको आग्रह रहेको खबर छ।

२३ वर्षका ब्राजिलियन स्ट्राइकर सँग बार्साको सम्पर्क रहेको जानकारी छ र उनी पनि बार्सामा खेल्न इच्छुक रहेको खबर छ तर हाल बार्साको आर्थिक अवस्था नराम्रो रहेको कारण उनलाई साइन गर्न बार्साले आफ्नो केही खेलाडी बेच्नु पर्ने बाध्यता रहेको छ।

ब्राजिलियन स्ट्राइकर बासेलको लागि एक महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित भएका छन् र उनको लागि बासेलले €१५-२० मिलियन सम्मको माग गर्ने जानकारी छ ।