बार्यन म्युनिखले जित्यो लगातार छैठौँ पटक बुण्डेस लिगा उपाधि

बार्यन म्युनिखले लगातार छैठौँ पटक जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । यसअघिका पाँच सिजन लगातार उपाधि उचालेको बार्यनले यो सिजन लिगका पाँच खेल बाँकी हुँदै उपाधि पक्का परेको हो ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्यनले अगुस्बर्गलाई ४–१ ले हराउँदै बार्यनले कीर्तिमानी छैठौँ पटक उपाधि पक्का गरेको हो । अवे मैदानमा भएको खेलमा १८ औँ मिनेटमा निक्लास सुलेले आत्मघाती गोल गरेपछि बार्यन सुरुमा पछि परेको थियो ।
तर त्यसपछि भने बार्यनले आफ्ना लागि गोल गर्नथाल्यो । ३२ औँ मिनेटमा कोरेन्टन टोलिसोले बार्यनका लागि बराबरी गोल फर्काए । ३८ औँ मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरेपछि पहिलो हाफमा बार्यनले २–१ को अग्रता लियो ।
बार्यनका लागि ६२ औँ मिनेटमा आर्जेन रोबिन तथा ८७ औँ मिनेटमा सान्ड्रो वाग्नरले गोल गर्दै ४–१ को जित दिलाए । यो जितसँगै बार्यनले लिगका पाँच खेल बाँकी हुँदै उपाधि पक्का गर्न सफल भयो ।
बार्यनको २९ खेलबाट ७२ अंक भएको छ । दोस्रो स्थानमा रहेको साल्केको समान २९ खेलबाट ५२ अंक भएको छ ।