बार्यनको घरमा रियलको जित

च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलअन्तर्गत भएको पहिलो लेगको खेलमा स्पेनिस रियल मड्रिडले जर्मन क्लब बार्यन म्युनिखलाई हराएको छ । बुधबार बार्यनको घरेलु मैदान म्युनिखमा भएको खेलमा रियलले घरेलु टोलीलाई २–१ ले हरायो ।

अवे खेलमा रियलको जितमा मार्सेलो र सब्सिच्युट खेलाडी मार्को एसेन्सियाले गोल गरे । बार्यनका लागि जोसुवा किममिकले १ गोल गरे ।

खेलमा अग्रता भने घरेलु टोली बार्यनले लिएको थियो । उसका लागि खेलको २७औं मिनेटमा किममिकले गोल गरेका थिए । तर, उसले अग्रता जोगाउन सकेन ।

पहिलो हाफको अन्तिम मिनेटमा रियलका लागि मार्सेलोले निकै आकर्षक गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

त्यसपछि दोस्रो हाफमा रियलले नतिजा आफ्नो पक्षमा निकाल्यो । जहाँ दोस्रो हाफ सुरु हुनासाथ इस्कोलाई प्रतिस्थापन गर्दै मैदान छिरेका एसेन्सियोले दर्शनीय गोल गरे ।

जुन रियललाई जितका लागि निर्णायक बन्यो
यो जितसँगै रियलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अवे मैदानमा २–१ को जितपछि उसको फाइनल यात्राको बाटो बलियो बनेको हो ।

गतवर्ष रियलले बार्यनलाई एग्रीगेटमा ६–३ ले हराउँदै अन्तिम आठबाटै बिदा गरिदिएको थियो । उक्त वर्ष रियलले दुवै लेग जितेको थियो ।

यस खेलमा रियलका स्टार क्रिस्टियानो रोनाल्डो भने गोलविहीन बने । यससँगै उनको च्याम्पियन्स लिगमा गोलको सिलसिला पनि तोडिएको छ । नत्र, यसअघि उनले जरी सिजनमा लिगका हरेक खेलमा गोल गर्दै आइरहेका थिए ।