बायर्न म्युनिखको फराकिलो जितमा लेवान्डोस्कीको ह्याटि्रक

बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । एक गोल कोरेनतीन टोलिस्सोको नाममा रह्यो ।

खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

यस जितसँगै बायर्नले १९ खेलमा ४६ अंक जोडेको छ ।

कोल्नले १९ खेलमा २८ अंक जोडेको छ ।