बायर्नलाई आठौं जर्मन सुपर कप उपाधि

एजेन्सी, बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो ।

बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो ।

डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए ।

६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।

बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम रहेको छ ।

बायर्नले बुन्डेसलिगा जितेको थियो भने डर्टमण्डले जर्मन कप जितेको थियो ।