बायर्नको डोर्ट्मुन्डविरुद्ध उत्कृष्ट कम्ब्याक

एजेन्सी, जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले उत्कृष्ट जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ४-२ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्नले डर्टमण्डविरुद्ध पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाएका थिए ।

नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो ।

तर, खेलको २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ४४ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलको ८८ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दो बायर्नलाई ४-२ को जित दिलाए ।

जितसँगै बायर्नले लिगमा शीर्ष स्थान यथावत राख्न सफल भएको छ ।

बायर्नले २४ खेलमा ५५ अंक जोडेको छ ।

बायर्न दोस्रो स्थानको आरबी लाइपजिगभन्दा २ अंकले अघि रहेको छ ।

डर्टमण्ड ३९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।