‘बल खरायो जस्तो देखिरहेको थियो, कोपा अमेरिकामा येस्तो मैदान निकै लज्जास्पद’ – मेस्सी

ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिना र भेनेज्वेला बीचमा अर्जेन्टिनाले २–० को जित निकाल्यो । खेलपछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले मैदान खराब भएको भन्दै आलोचना गरेका छन् ।

गत रातिको खेल माराकानास्थित इस्टाडियो जोर्नालिस्टा मारियो फिल्हो रंगशालामा भएको थियो । सो मैदान खेल्न ठीकठाक थिएन । खराब घाँसले मैदानलाई असहज बनाएको थियो । खेल दौरान पनि यो प्रष्ट अनुभूत हुन्थ्यो । बल नउफ्रिने, नचल्ने समस्याले खेलाडी खेल दौरान पनि तनावमा देखिन्थे ।

खेल सकिएपछि मिडियासँग बोल्दै अर्जेन्टिनी कप्तान मेस्सीले कोपा जस्तो प्रतियोगितामा तल्लोस्तरको खेल मैदान हुनु ज्यादै लज्जास्पद रहेको बताए ।

‘यो एकदमै सत्य हो, यी मैदान साँच्चै लाजमर्दा छन् । खेलाडीले बल नियन्त्रणमा लिन सक्दैन र बल लिएर दौडिन सक्दैन । बल घाँसमै अल्झिन्छ,’ मेस्सीले भने, ‘कोपा अमेरिकाजस्तो प्रतियोगितामा यस्तो मैदान हुनु साँच्चै लज्जास्पद छ ।’

मेस्सीले अघि थपे, ‘मैदानमा बल खरायोजस्तो देखिन्छ । मैदानकै कारण हामीलाई बल नियन्त्रणमा लिन गार्‍हो भयो, अरूलाई पनि यस्तो भयो होला । फुटबलमा मैदानको अवस्था निकै महत्त्वपूर्ण हुन्छ । तर, यहाँ व्यवस्थापन एकदमै खराब रह्यो । तैपनि, हामीले आफ्नो प्रयासले खेल्यौं । र, जित्न सक्यौं ।’