बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले खोले मुख

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कारको आरोप लागेपछि आफु निर्दोष रहेको बताएका छन्।

क्यारेवियन प्रेमिएर लिग खेल्न अहिले वेस्टइन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघसँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन्।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए। सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं। उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने।

सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन्। उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए।

मल्लले भने,‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन्। जाहेरीकै आधारमा मात्र हामीले कारवाही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ। भोलि प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं।’

सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्टइन्डिज गएका थिए। ३१ अगष्टबाट सुरु भएको सीपीएल १ अक्टोबर सम्म चल्नेछ।