बलरको कमजोर प्रर्दशनले गर्दा हार्यो: प्रशिक्षक टमटा

मुख्य प्रशिक्षक जगत टमटाले बलरहरुको कमजोर प्रदर्शनका कारण नेपालले एसिया कप छनौटको पहिलो खेल गुमाउनु परेको बताएका छन्।

मलेसियामा जारी छनौटमा नेपालले बुधबार पहिलो खेलमा ओमानलाई ७ विकेटले खेल सुम्पिएको थियो। नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १२ रन अगावै भेटाएको थियो।

‘बलिङमा अनुशासनको कमी देखियो,’ टमटाले भने, ‘बलरहरुले ‘लाइन र लेन्थ’मा फाल्न सकेनन् र सुरुवाती विकेट लिएर दबाब बढाउने योजना पनि कार्यान्वयन भएन्।’

डिभिजन थ्रीमा रहेको टोली ओमान विरुद्ध नेपालका भेट्रान स्पिनर तथा भरपर्दा खेलाडी बसन्त रेग्मी महँगा बनेका थिए। ९ ओभरको स्पेलमा २ ओभर मेडन राखेपनि उनले ६१ रन खर्चे।

यस्तै विकेट टेकरका रुपमा आशा गरिएका युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि आफ्नो जादु देखाउन सकेनन्। १० ओभरको स्पेलमा १ ओभर मेडन राख्दै उनले २७ रन खर्चे।
नेपाली टोलीबाट विकेट लिने एक खेलाडी मात्रै पारस खड्का थिए। पारसले ओपनर अकिब ल्याइस(१६)लाई एलबिडब्लुको सिकार बनाउँनु बाहेक अन्य कुनैपनि बलरले विकेट हात पार्न सकेनन्।

बाँकी दुई विकेट ओमानकै ब्याट्सम्यानहरुको ‘मिस कम्युनिकेसन’मा नेपालले रन आउट स्वरुप पाएको थियो।
‘बलरहरुले उनी(ओमान)हरुको ‘मोमेन्टम’ नै तोड्न सकेनन्, टमटाले भने, ‘ब्याटिङमा पनि हाम्रो ३०–४० रन कम भयो भने फिल्डिङमा पनि एउटा रनआउटको चान्स र क्याच मिस गर्दा गेम फुत्क्यो।’

कप्तान पारस खड्काले पनि बलिङ सोचे अनुसारको राम्रो नभएको बताएका छन्। ‘हामी बलिङ अझै राम्रो गर्न सक्थ्यौं,’ खेलपनि पारसले भने, ‘दोस्रो इनिङमा विकेटले राम्रो व्यवहार देखाउँनु र हामीले राम्रो बलिङ गर्न नसक्नु हारको कारण बन्यो।’

विहान ओसिलो विकेट भएकाले नेपाली ब्याट्सम्यानलाई ब्याटिङ गर्न समस्या भएकोमा उनीहरुको जोड थियो। टस हारेर ब्याटिङ पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो।

झण्डै डेढ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागर पुनले ८३ रनको पारी खेलेपनि उनलाई दोस्रो इनिङबाट साथ दिने खेलाडीको अभाव देखिएको थियो। ८५ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै ज्ञानेन्द्र मल्लले ४५, आरिफ सेख ३६, करण केसीले नटआउट २६ रन प्रहार गरे।

खावर अलिले ८४ रनको पारी खेलेपछि १२ बल अगावै ओमानले ३ विकेटमात्रै गुमाएर लक्ष्य भेटाएको थियो। ९६ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै जिसन मकसुदले ४५ रन जोडे। उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए।

एसिया कपमा छनौट हुँदै भारत र पाकिस्तासँग खेल्ने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो। एशिया कपको छनौट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमान रहेका छन्।
एक दिवसीय खेलको शीर्ष स्थानमा रहने टोली एसिया कपको समूह ए मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान रहेका छन्। एशिया कप भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ।