बङ्गलादेशलाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा

बङ्गलादेशलाई २८ रनले पराजित गर्दै भारत जारी एक दिवसिय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलबार राति सम्पन्न खेलमा भारतले बनाएको ३१४ रन पछ्याउँदै ब्याटिङमा उत्रिएको बङ्गलादेशले निर्धारित लक्ष्य पूरा गर्न सकेन ।

खेलमा बङ्गलादेशले कडा चुनौती दिएको थियो। भारतीय खेलाडीहरुले शुरुमै महत्वपूर्ण विकेट लिएपछि बङ्गलादेश कमजोर भएको थियो। बङ्गलादेशका मध्यक्रमका ब्याट्सम्यानहरुले सम्हालिएर खेलेपनि जितका लागि पर्याप्त रन बनाउन सकेनन् । बङ्गलादेश २८६ रनमा सिमित भएको थियो।

भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए ।पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

रोहितले विश्वकपमा चार शतक बनाउने श्रीलंकाका कुमार सांगकाराको रेकर्ड बराबरी गरेका छन् भने भारतको पहिलो ब्याट्सम्यान बनेका छन् । यसैगरी जारी विश्वकपमा सर्वाधिक ५४४ रन बनाउने खेलाडी पनि बनेका छन् ।