बंगलादेशविरुद्ध दुई खेलाडी परिवर्तन, भरत र निराजन टिममा

साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बंगलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।

नेपालले अन्जन बिष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टिममा राखेको छ । बंगलादेशविरुद्ध नियमित कप्तान विराज महर्जनलाई पहिलो रोजाईमा राखिएको छैन ।

किरणले दोस्रोपटक नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका हुन् । यसअघि उनले यू-२३ टोलीको नेतृत्व भने गरिसकेका छन् । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोलीलाई ४-४ -२ को ढाँचामा खेलाडी मैदान उतार्ने छन् ।

हेर्नुस नेपालको प्लेईङ ११ –

गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी
मिडफिल्डर : रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड : विमल घर्ति मगर,भरत खवास