बंगबन्धु गोल्डकपले स्थगित ‘ए’ डिभिजन लिगको खेल २४ गतेबाट सुरु

ए डिभिजन लिगको पहिलो चरणको बाँकी खेल २४ गतेबाट सुरु हुने भएको छ । बंगबन्धु गोल्डकपले स्थगित ए डिभिजन लिगको पहिलो चरणको खेल २४ गते सुरु गर्ने तयारी गरिएको लिग निर्देशक सञ्जिव मिश्रले खेलपाटीलाई बताए ।

‘यो बिषयमा औपचारिक पत्राचार गछौ । तर पहिलो चरणको बाँकी खेल सुरु गर्छौ, त्यो २४ गतेबाट सुरु हुन्छ ।’ उनले भने । गत असोज १३ गतेबाट सुरु भएको ए डिभिजन लिग पहिलो चरणको दुई खेलपछि स्थगित गरिएको थियो । अधिकांश क्लबमा राष्ट्रिय टिमका खेलाडी रहेकाले बंगबन्धु गोल्ड कपकालागि भन्दै लिगलाई अनिश्चित कालकालागि स्थगित गरिएको थियो ।

नेपाल बंगबन्धु गोल्डकपको समुह चरणबाटै बाहिरिएपछि स्थगित लिगलाई अखिल नेपाल फुटबल संघ एन्फाले असोज २४ गतेबाट सुरु गर्न लागेको हो ।

लिगको पहिलो खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो ।

पहिलो चरणमा अब पाँच खेल हुन बाँकी छ ।

लिग अन्तर्गत अब ब्रिगेट ब्वाईज र मनाङ मर्याङदी क्लब, मछिन्द्र र च्यासल युथ क्लब, फ्रेन्ड्स र थ्रीस्टार क्लब, जावलाखेल र नेपाल पुलिस क्लब तथा हिमालयन शेर्पा र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुन बाँकी छ ।