बंगबन्धु गोल्डकपले गर्दा पहिलो चरणको लिग तालिकामा येस्तो असर

बंगलादेशमा हुने बंगबन्धु गोल्डकपले पहिलो चरणको लिग तालिका प्रभावित हुने भएको छ । नेपालले बंगलादेशको प्रतिष्ठित गोल्डकपमा भाग लिने निश्चित भएपछि असोज १३ गतेबाट सुरु हुने पल्सर शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका प्रभावित हुने देखिएको हो ।

बंगबन्धुमा नेपालले गर्ने प्रर्दशनका आधारमा लिगको तालिका फेरबदल गर्ने एन्फाको तयारी छ । नेपालले बंगबन्धुमा भाग लिने भएपनि लिगको उद्घाटन खेलमा विभागीय टिम आर्मी र न्युरोड टिम एनआरटीको खेल पुर्व निर्धारित मितिमै हुने एन्फाले जनाएको छ । त्यस लगत्तै नेपाली टिम असोज १४ गते बंगलादेश प्रस्थान गर्नेछ ।

पहिलो चरणको खेल अन्तर्गत असोज १६ गते सरस्वती र संकटाबीचको खेल समेत पुर्वनिर्धारित मितिमै हुने एन्फाले जनाएको छ ।

एन्फा प्रवक्ता किरण राईले बंगबन्धुमा नेपालको नतिजा अनुसार लिगको तालिका हेरफेर हुने बताए ।

‘नेपाल जति अगाडी बढ्छ । त्यही अनुसार लिगको तालिका फेरबदल हुन्छ ।’ खेलपाटीसंग उनले भने ।
नेपाली राष्ट्रिय टिमले भोली सोमबारबाटै बंगबन्धुकालागि अभ्यास सुरु गर्नेछ ।