बंगबन्धु कप : प्यालेस्टाइनले ताजिकिस्तानलाई हरायो, नेपालको सेमिफाइनल यात्रा झनै कठिन

बंगलादेशमा जारी बंगबन्धु कपमा दोस्रो खेलमा प्यालेस्टाइनले ताजिकिस्तानलाई २-० ले पराजित गरेको छ । समूह ‘ए’ प्यालेस्टाइनले ताजिकिस्तान हराएपछि नेपालको अघिल्लो यात्रा झनै कठिन बनेको हो । खेलको पहिलो मिनेटमा जोनाथन जोरिल्लाले ओडे दब्बगको पासको सदुपयोग गर्दै खाता खोलेका थिए । ७५ औं मिनेटमा बहदारीले गोल गर्दै प्यालेस्टाइनको अग्रता दोब्बर पारे । यस जितसँगै समूहको अंक तालिकामा प्यालेस्टाइन शीर्ष स्थानमा उक्लेको छ ।

समूहको पहिलो खेलमा ताजिकिस्तानले नेपाललाई २ – ० ले नै पराजित गरेको थियो । दुवै समूहबाट शीर्ष दुई टोली अर्को चरणमा पुग्नेछन् । नेपालले अब सेमिफाइनलमा पुग्न शनिबार हुने खेलमा प्यालेस्टाइनलाई कम्तिमा पनि २ गोलको अन्तरले जित्नुपर्ने हुन्छ । हार वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।