बंगबन्धुमा सहभागिता निश्चित भएपछि ‘ए’ डिभिजन लिग स्थगित हुने सम्भावना

अघिल्लो संस्करणको बक्यौता पुरस्कार रकम भुक्तानी आएपछि नेपालको बंगबन्धु गोल्डकप सहभागिता निश्चित भएको छ । तर, पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने बंगबन्धुको सहभागितासँगै केहि समयका लागि स्थगित हुने सम्भावना देखिएको छ ।

ए डिभिजन लिग असोज १३ गतेदेखि सुरु हुँदैछ भने बंगबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ सम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडीहरु ए डिभिजनका ६ क्लवमा आबद्ध छन् । मनाङ मर्स्याङदीमा ५, थ्रीस्टार र त्रिभुवन आर्मीमा ४–४, च्यासल युथ क्लवमा ३ तथा एपीएफ र नेपाल पुलिस क्लवमा एक एक जना राष्ट्रिय खेलाडी अनुबन्ध छन् ।

बंगबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा यी क्लवहरुलाई अप्ठेरो पर्न सक्छ । क्लवहरुले बंगबन्धुमा सहभागिता निश्चित भएमा लिगमा के हुने भन्नेबारे क्लवका प्रतिनिधिले यसअघि नै एन्फामा जिज्ञासा राखिसकेका थिए ।

अखिल नेपाल फुटबल संघले बंगबन्धु र ए डिभिजन लिगलाई व्यवस्थित बनाउन सोमबार ठोष निर्णय् गर्दैछ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार एन्फा पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि ठोष निर्णयमा पुगिने जानकारी दिए ।

महासचिव तुलाधरका अनुसार दुई विकल्पबारे छलफल हुनेछ । पहिलोः ए डिभिजन लिगको उद्घाटन गरेपछि बंगबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने । र, दोस्रोः राष्ट्रिय खेलाडी अनुबन्ध नभएका ६ क्लवबीचको खेल सञ्चालन गर्ने यी दुई बिकल्पमध्ये एकमा आधारित रहेर एन्फाले ए डिभिजन लिगको तालिका पुनः प्रकाशन गर्नेछ ।