फ्रान्स सेमिफाइनलमा

फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

रोमान्चक खेलको १७औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५४औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७८औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । उनले ग्रीजम्यानकै पासमा गोल गरेका हुन् ।

खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो । तर, केनको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २-१ ले विजयी भयो ।

अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।