फ्रान्सको जर्मनीमाथी जित, जर्मनीको खराव प्रदर्शन जारी

विश्व विजेता फ्रान्सले युईएफए नेसन्स कप फुटबलमा जर्मनीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २ – १ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको हो । फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रीजम्यानले दुवै गोल गरे । जर्मनीका टोनी क्रुसले एक गोल गरे ।

पहिलो हाफमा १ – ० ले अग्रता लिएको जर्मनी अग्रता जोगाउन नसक्दा पराजित भएको हो । खेलको १४ औं मिनेटमा क्रुसले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २ – १ को जित दिलाए ।

जितसंगै फ्रान्सले लिग ‘ए’ समूह एकबाट प्ले अफमा स्थान पक्का गरेको छ । यता, जर्मनी भने रेलिगेसनमा परेको छ । रुस विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनीको यो लगातार खराब प्रदर्शन हो ।

फ्रान्सले ३ खेलबाट २ जितसहित ७ अंक जोडेको छ । जर्मनीले ३ खेलबाट १ अंक जोडेको छ । यस समूहमा ३ खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड दोस्रो स्थानमा छ ।