फ्यान, जसले मनाङकाे खेल हेर्न ७०० किलोमिटर यात्रा गरे

दर्शकको हुटिङ्कावीचमा खेल्नुको मज्जा नै बेग्लै हुन्छ ।
यो भनाई अक्सर सबै खेलाडीको हो । क्रिकेट होस वा फुटबल, दर्शकविनाको खेल निरस नै हुन्छ । दर्शकको हल्लाले खेलाडीलाई बेग्लै जोस दिन्छ । कुनै पनि प्रतियोगिताको सफलता दर्शकको उपस्थितीले पनि निर्धारण गर्दछ ।

नेपाली फुटबलमा पछिल्लो समय फ्यान कल्चर बढ्दै गएको छ । विभिन्न क्लबका आधिकारिक फ्यान क्लब गठन भएका छन् । मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबका आधिकारिक फ्यान क्लब गठन भई सक्रिय रुपमा काम गरिरहेका छन् । क्लबले पनि फ्यान क्लबलाई विषेश महत्व दिँदै आएको छ ।

पल्सर शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासलविरुद्धको खेलमा पोस्टको पछाडी बसेर फ्यानहरु मनाङ् मस्याङ्दी क्लबको गोलमा रमाइरहेका थिए । त्यो दर्शकदिर्घामा प्रायः परिचित अनुहार थिए । जसलाई मनाङ् मर्स्याङ्दीको खेलमा बारम्बार देख्न सकिन्छ । तर केही फ्यान यस्ता थिए जो मनाङ्को खेल हेर्नैका लागि लामो दूरी तय गरेर काठमाडौं आए ।

जितेन्द्र सिंह धामी । २८ वर्षे मनाङ फ्यान आफ्नो क्लबको खेल हेर्नका लागि झण्डै सात सय किलोमिटरको दूरी तय गरेर काठमाडौं आए । कञ्चनपुर घर भएका जितेन्द्र बस चढेर सोमबार काठमाडौं आइपुगे । टाउकोमा आकाशे नीलो क्याप र एमएमसी फरेभर कञ्चनपुर लेखिएको आकाशे नीलो र सेतो मिसिएको झण्डा लिएर उनी आफ्नो टिमको हौसला बढाइरहेका थिए ।

‘विद्यालय पढ्दाको समयमा रेडियोमा मनाङको समाचार सुन्थेँ । क्लबको नाम नै मन पर्याे,’ यसरी उनी मनाङ्को फ्यान भएका थिए । उनीसँगको कुराकानीमा थाहा भयो की उनी अर्जेन्टिनाको फ्यान रहेछन् । केही समयअघिसम्म मनाङ मर्स्याङ्दी क्लबले लगाउने जर्सी अर्जेन्टिनासँग मिल्थ्यो । झण्डा त मनाङको अहिलेपनि अर्जेन्टिना रंग (आकाशे नीलो र सेतो) नै छ ।

‘लिग हामीले नै जित्छौ,’ उनलाई विश्वास छ । च्यासलविरुद्धको तीन अंक जितेपछि मनाङले नौ खेलमा २७ अंक बनाएको छ । अब मनाङको अगाडी नेपाल पुलिस क्लब र संकटा क्लबविरुद्धको खेल केही कठीन छ ।

उनी पुलिस क्लबविरुद्धको खेलसम्म काठमाडौं बस्ने सोचाइमा छन् । ‘यहाँ आउँदा र खान बस्न गरेर न्यूनतम आठ–दश हजार खर्च हुन्छ । तर पनि साथी–भाईकोमा बस्दा खर्च कटौती हुन्छ,’ उनले भने ।

खप्तड गोल्डकपको पहिलो संस्करणमा उनले मनाङ् मर्स्याङ्दी क्लबको पूरै खेल हेरे । त्यसबेला आफुले मन पराएको टिमले उपाधि जित्दा जितेन्द्र धेरै नै खुसी भए । मनाङको खेल प्रत्यक्ष हेर्न पाएको पहिलो क्षण त्यही नै थियो ।
तनहुँ, दमौलीका विशाल थापा पनि केही दिनअघि खेल हेर्नकै लागि काठमाडौं आएका थिए । उनी मनाङ्को फ्यान हुनुको पछाडी भने अर्कै कारण छ । बास्तवमा उनी सुजल श्रेष्ठको फ्यान ।

‘सुजलको खेल्ने शैली र फ्यानहरु प्रति उनले गर्ने ब्यवहार निकै मन पर्छ,’ आफू सुजलको फ्यान हुनुको रहस्य खोले । सुजलको फ्यान र सुजल मनाङका मिडफिल्डर । उनी पनि मनाङ मर्स्याङ्दीको फ्यान बन्न पुगे ।

तर दूर्भाग्य, इन्ज्युरीका कारण सुजल मैदानमा उपस्थित हुन सकेका छैनन् । उनको अन्तिम परिक्षणपछिमात्र लिगका आगामी खेल खेल्ने वा नखेल्ने भन्ने टुंगो लगाउँछ ।

दुई वर्षअघि पोखरामा भएको आहा ! रारा गोल्डकपको खेल हेरेका थिए विशालले । त्यहीँ उनले सुजलसँग भेट गर्ने मौका पनि पाए । ‘तर पनि टिभीमा भने मनाङ्को खेल सकेसम्म छुटाउँदिनथेँ,’ सुजलले उपहार दिएको ११ नम्बर अंकित जर्सी लगाएर सातदोबाटो मैदानमा पुगको विशालले भने ।

नेपाली फुटबलमा मनाङ मर्स्याङ्दीका डाई हार्ड फ्यान सयौंको संख्यामा छन् । जो उपत्यका बाहिर वा देशबाहिरैबाट पनि क्लबको खेल हेर्न आउँछन् ।

क्लबले पनि यस्ता समर्थकलाई विषेश महत्व दिने गरेको छ । लिगका बेला फ्यानहरुलाई क्लब आफैँले टिकट उपलब्ध गराउँदै आएको छ । नेपाली फुटबललाई अघि बढाउनका लागि फ्यान कल्चरको पनि भूमिका निकै महत्वपूर्ण हुन्छ भन्ने कुरामा दुई मत छैन ।