फेरि विश्वकप खेल्न तातियो नेपाल

अष्ट्रेलियामा २०२० मा हुने टि–२० क्रिकेट विश्वकप खेल्न योग्य हुन नेपाललाई अझै दुई चरण पार गर्नुपर्छ। २०७६ साउन पहिलो साता हुने एसिया छनौट पार गरेमा नेपालले असोजमा हुने ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनाैटमा पार भए बल्ल २०१४ मा पहिलोपटक विश्वकप खेलिसकेको नेपालको दोस्रो चोटी विश्वकप खेल्ने सपना पूरा हुनेछ।

साउन ६ गतेबाट सिंगापुरमा शुरु हुने एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्। टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा मात्र टोली ग्लोबल छनौटमा पुग्ने हो।

यतिवेला नेपालले त्रिवि क्रिकेट मैदानमा त्यही एसिया छनौटको तयारी भइरहेको छ। अघिल्लो साता २५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएपछि नेपालको बन्द प्रशिक्षण शुरु भएको हो। नयाँ प्रशिक्षक उमेश पटुवालको नेतृत्वमा नेपाली टोली पुनः विश्वकप खेल्न कस्सिएको छ।

नयाँ प्रशिक्षक आएसँगै खेलाडीहरुमा पनि नयाँ जोश जाँगर देखिएको कप्तान पारस खड्का बताउँछन्। ‘फेरि विश्वकप खेल्नका लागि यो महत्वपूर्ण बेला हो। हामीले यो खुट्किलो पार गर्नैपर्नेछ,’ पारसले भने, ‘नयाँ प्रशिक्षक आएपछि नयाँ जोश जागर बढेको छ तर जिम्मेवारी खेलाडीमा नै हो। आशा गरौं, उहाँको निर्देशनअनुसार हामीले खेल्नेछौं।’

नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला नेपाली क्रिकेट हेरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जेठमा मात्रै पूर्व अफगानिस्तानका ब्याटिङ प्रशिक्षक रहिसकेका उमेश पटुवाललाई एकवर्षका लागि नेपाली प्रशिक्षकमा नियुक्त गरेको थियो।