फेरि चिप्लिए जेराड

लिभरपुलका पुर्व कप्तान/लेजेन्ड तथा एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभेन जेराडले फेरि एक पटक लिभरपुललाई लिग उपाधी जित्नबाट जानी नजानी रोकेको छ ।

एस्टन भिल्लाले म्यान्चेस्टर सिटीलाई कम्तीमा बराबरीमा रोकेको खण्डमा मात्र लिभरपुलले लिग उपाधी जित्ने थियोे ।

यद्यपि, खेलमा भिल्लाले २-० को अग्रता समेत बनाइसकेको थियो र खेलको अन्तिम १५ मिनेट सम्हाल्न नसक्दा जेराडको एस्टन भिल्ला ३-२ ले हार्न पुग्यो र सिटीले लिग उपाधी जित्न सफल भयो ।

उता, लिभरपुलले पनि पुनरागमन जित निकाल्न सफल भयो तर त्यस जितले लिभरपुललाई उपाधी भने दिलाउन सकेन ।

स्मरण रहोस्, २०१३/१४ सिजनमा पनि लिग उपाधी जित्न धेरै नजिक रहेको लिभरपुल, स्टेभेन जेराड कै गल्तीमा चेल्सीबिरुद्ध हार्दै पछि लिग गुमाउन पुगेको थियो ।

त्यति खेर जेराड मैदानमा चिप्लिएपछि चेल्सीका स्ट्राइकर डेम्बा बाले गोल गर्दै चेल्सीलाई जित दिलाएको थियो ।