फूटबलको महाकुम्भ: एल क्लासिको, राजा बिनाको रैति

फुटबल विश्वको सबैभन्दा लोकप्रयि खेल हो । अझ युवाहरु फुटबल भनेपछि मरिहत्ते गर्ने प्रचलन समेत रहेको छ । नेपालमा समेत फुटबलको प्रभाव निकै रहेको छ । एल– क्लासिको फुटबल जगतमा सबैभन्दा अपेक्षित र बढी हेरिने प्रतिस्पर्धा हो । करिब १० वर्ष यता यो भिडन्त दुई ऐतिहासिक प्रतिद्वन्दीहरु बीचको प्रतिस्पर्धा मात्र नभई यस पुस्ताको दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको भिडन्तको रुपमा पनि हेरिने गरिन्थ्यो ।

मेस्सी र रोनाल्डो मध्ये को महान भन्ने कुरा हालसम्म पनि निर्कियोग गर्न सकेको छैन । आज विश्व फुटबलमा खास २ किसिमको समर्थक रहेको छ । विश्वका फुटबल समर्थकहरु समेत दुई भागमा विभाजित रहेका छन् । मेस्सीको समर्थक र रोनाल्डोको समर्थक ।

रोनाल्डोले विश्व कप लगत्तै रियल म्याड्रिड छाड्दै युभेन्टस जादैं रियल समर्थकहरुलाई निराश बनाए । उनी इटालियन क्लब युभेन्टसमा आवद्ध भए । अर्को तर्फ, मेस्सी पनि हातमा चोट बोक्दै मैदान बाहिर रहेकाले खेलमा समावेश नहुने पक्का रहेको छ । त्यसैले यस एल क्लासिकोमा रोनाल्डो र मेस्सी दुवैलाई देखिने छैन । तर यो सिजनको एल– क्लासिको फुटबल खल्लो हुने भएको छ । मेस्सी र रोनाल्डो यो सिजनको एल– क्लासिकोमा नदेखिने भएको छ । दर्शकहरुलाई समेत तरकारीमा नुन नलागेको जस्तो पक्कै हुनेछ । समर्थकहरु पक्कै पनि राजाविनाको रैति जस्तो बन्ने निश्चित छ ।

यो सिजन खराब खेल प्रदर्शन गरिरहेको रियल म्याड्रिडको लागि बार्सिलोनालाई पाखा लगाउनु नै सबैभन्दा ठूलो उपलब्धि पक्कै हुनेछ । अर्को तर्फ रियलले रोनाल्डोको अनुपस्थितिलाई पनि आफू अनुकुल पार्ने सबैभन्दा महत्वपूर्ण समय रहेको छ ।

रियलका अन्य खेलाडीहरुले रोनाल्डोको स्थान कसले लिने भन्ने समय पनि यहि रहेको छ । यो सिजन आफूले खेलेका ९ खेलमा रियलले ४ मा मात्र जित हांसिल गरेको छ । ती खेलमा १३ गोल गर्दै ९ गोल खान पुगेको रियल अंक तालिकाको आठौं स्थानमा रहेको छ । रोनाल्डो गुमाएपश्चात आक्रमणमा फितलो देखिएको रियलको रक्षापंक्तिले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन ।

अर्को तर्फ, ९ खेलमा १८ अंक बटुल्न सफल बार्सिलोना अंकतालिकामा १ खेल बढि खेलेको एट्लेटिको म्याड्रिडभन्दा १ अंकके पछाडी रहेको छ । आजको खेलमा बराबरी खेले पनि बार्सिलोनाले पहिलो स्थानमा पुनरागन गर्ने छ । लिगमा २३ गोल गर्न सफल बार्सिलोनाले ११ खान पुगेको छ, जुन एट्लेटिकोभन्दा ६ बढि पनि हो ।

बार्सिलोनाका लागि गोल र असिस्ट दुवैतर्फ मेस्सीले नै सबैभन्दा बढी योग्दान दिएका छन् । ७ गोल र ५ असिस्ट गरिसकेका उनलाई गुमाउनु बार्सिलोनाका लागि ठुलै धक्का पनि हो । उनको अनुपस्थितिमा लुइस स्वारेज ४ गोल र फिलिपे कौटिन्हो ३ गोल ले गोल गर्ने जिम्मेवारी लिने छन् ।

बार्सिलोनामा यो सिजन विश्व चर्चित खेलाडीहरुको बर्चश्व रहेको छ । उनीहरुमा पनि मेस्सीको अभाव टार्नुपर्ने र मेस्सीको अनुपस्थितिमा आफ्नो प्रतिभा देखाउने सहि समय रहेको छ । राफिन्हा, उस्माने डेम्बेले र माल्कममध्ये एक जनाले अग्रपंक्तिको दायां विङ सम्हाल्ने छन् । विश्वकप विजेता सामुयल उम्टिटी पनि घरेलु टोली बार्सिलोनाका लागि चोटका कारण उपलब्ध छैनन् ।

यता, करिम बेन्जेमा १ गोल, ग्यारेथ बेल २ गोल र इस्कोले रियल म्याड्रिडको अग्रपंक्ति सम्हाल्ने छन् । त्यस्तै सामान्य घाइते भएका मार्सेलो सुरुवाती ११ मै रहने अपेक्षा गरिएको छ । पहिलो रोजाईका ड्यानी कार्भाहाल घाइते रहेकाले डिफेन्सको बायांतिर स्पेनकै नाचो खेल्ने देखिन्छ ।

अघिल्लो पटक रियल र बार्साको भिडन्त २ २ मा सकिएको थियो जहां मेस्सी र स्वारेजले बार्साका लागि र रोनाल्डो र बेलले रियलका लागि गोल गरेका थिए । बार्सिलोनाका लागि जितका साथ पहिलो स्थानमा पकड जमाउने मौका रहने छ भने रियल पनि खराब लयलाई पछाडी राख्दै आफ्नो चिरपरिचित प्रतिद्वन्दीलाई हराउंदै लय समात्न चाहन्छ ।

आजका खेलमा फेरी संसारको नजर २ घण्टाका लागि क्याम्प न्युमा विश्वस्तरीय प्रतिभाहरु र ऐतिहासिक प्रतिद्वन्दीमा अडिने छ जहाँ नयाँ नायकहरु उदाउने मौका रहने छ । तर रोनाल्डो र मेस्सी दुवैको अनुपस्थितिमा यस अवसरको भव्यता भने अलिकति खल्लो पक्कै रहने छ । खेल नेपाली समय अनुसार रातिको ९ बजे सुरु हुने छ ।