फुल्ह्याममाथि सिटिको सहज जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले रेलिगेसन जोनमा रहेका फुलह्याममाथि ३–० को जीत दर्ता गरेको हो ।

यो खेलमा अर्जेन्टिनी स्टार सर्जियो एग्युरोले १४ महिनापछि पहिलो लिग गोल पनि गरेका छन् ।

फुलह्यामले घरेलु मैदानमा पहिलो हाफ गोलरहित रोके पनि दोस्रो हाफमा भने तीन गोल खान पुग्यो ।

४७ औं मिनेटमा जोआओ क्यान्सेलोको फ्रिकिकमा जोन स्टोनेसले ट्यापिङ गोल गरेका थिए ।

५६ औं मिनेटमा फुलह्याम गोलरक्षक अल्फोन्स अरेओलाको गल्तीको फाइदा लिँदै गाव्रियल जेससले टिमका लागि दोस्रो गोल गरेका थिए ।

६० औं मिनेमा फुलह्यामका टोसिन अडारावियोले फरान टोरेसलाई फल गरेपछि पाएको पेनाल्टीमा एग्युरो सफल भएका थिए ।

जितसँगै सिटीले शीर्ष स्थानमा १७ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले २ खेल कम खेलेको छ ।

सन् २०२० को जनवरीमा शेफिल्ड युनाइटेडबिरुद्ध गोल गरेयता एग्युरोले प्रिमियर लिगमा गोल गर्न नसकेको ४ सय १७ दिन भएको थियो ।

सिटीको ३० खेलबाट ७१ अंक भएको छ । २ खेल कम खेलेको युनाइटेडको ५४ अंक छ ।