‘फुटबलको दुनियाँमा मेस्सी मानव होइन’

इंग्ल्यान्डका लिजेन्ड फुटबलर ग्यारी लिंकरले स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका स्टार फरवार्ड लिओनल मेस्सीको प्रशंसा गरेका छन् । उनले मेस्सी फुटबलको मैदानमा ‘मानव नभएको’ भन्दै उनी अर्कै ग्रहबाट आएको बताएका हुन् ।

बुधबार राति युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना इंग्लिस क्लब टोटनह्यामसँग खेल्न उसकै घरमा उत्रिँदैछ । निकै चर्चा र प्रतीक्षा गरिएको उक्त खेलअघि लिंकरले मेस्सीबारे यस्तो धारणा राखेका हुन् ।

स्मरण रहोस्, लिंकर बार्सिलोना र टोटनह्याम दुवै क्लबका पूर्वखेलाडी हुन् । उनलाई दुवै क्लबले लिजेन्डका रूपमा सम्मान दिन्छन् ।

बार्सिलोनाको अफिसियल मिडिया ‘बार्सा टिभी’सँग कुरा गर्दै लिंकरले भनेका छन्, ‘म सधैं भन्छु, मेस्सी उत्कृष्ट खेलाडी हुन् । त्यसका लागि उनले उपाधि जितिराख्न पर्दैन ।’
लिंकरले अघि थपे, ‘मेस्सी फुटबलको मैदानमा मानव होइनन्, उनी एलियन हुन् ।’

लिंकरले मेस्सीको अद्भुत क्षमताले नै उनलाई विश्वकै महान् खेलाडीको दर्जामा राखेको बताए । ‘उनका लागि मसँग प्रशंसाका शब्द छैनन्, उनी अद्भुत छन्,’ उनले थपे ।