सन्तोष बानियाँ, वसन्त अर्याल, शिवभक्त जोशी, पारस चौधरी, दीपेन्द धिमाल, मनोज बस्नेत, किरण गिरी र किशोर शाही विराटनगरका ‘फुटबलका हस्ती’ भनेर चिनिन्छन् ।
उनीहरूकै वरपर यहाँको फुटबल घुम्छ । उनीहरू फुटबलका लागि घुमेको देखिँदैन । कहींकतै प्रतियोगिता भयो र आयोजकले अतिथिका रूपमा बोलाए भने पुग्छन् । उनीहरू आफू चाहिँ अरूलाई अतिथि भनेर बोलाउँदैनन् । किनकि उनीहरू प्रतियोगिता आयोजनै गर्दैनन् । निजी क्षेत्रले प्रतियोगिता गरिदियोस् भन्छन् । निजी क्षेत्रले प्रतियोगिता आयोजना गर्दा उनीहरू आयोजक र प्रायोजक दुवैका कुरा काट्न पछि पर्दैनन् ।
यसको पछिल्लो उदाहरण हो, विराट गोल्डकप प्रतियोगिताको अन्योल । गत वर्ष पनि यो प्रतियोगिता सञ्चालन भएन । यसपालि पनि अत्तोपत्तो छैन । वसन्त अर्याल अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव हुन् । ‘तर यहाँको गोल्डकप एन्फाको क्यालेन्डरमा समेत परेन’ फुटबल भनेपछि मरिहत्ते गर्ने एक युवाले भने, ‘यहाँका फुटबलका हस्तीहरूको नाममा यहाँभन्दा बढी लाजमर्दो अरू के हुन सक्छ ।’
गोल्डकप ट्रस्टले समयमा एन्फालाई पत्रचार नगर्दा प्रतियोगिता एन्फाको क्यालेन्डरमा छुटेको उल्लेख गर्दै एन्फा क्यालेन्डरमा पार्ने पहल र प्रतियोगिताका लागि समय माग गर्ने काम भइरहेको अर्यालले बताए । सहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था हुँदै छ । त्यसको व्यवस्था भएपछि चैतमा खेलाएरै छाड्ने अर्यालले दाबी गरे । प्रतियोगितालाई निरन्तरता दिन नसक्दा आफैंलाई लाज लाग्ने गरेको अर्यालको भनाइ थियो ।
२०१८ सालमा महेन्द्र गोल्डकपका नामबाट सुरु भएको यो प्रतियोगिता पछिल्लो समय निजी क्षेत्रले विराट गोल्डकपका नाममा सञ्चालन हुँदै आएको थियो । गोल्डकपका नाममा ट्रस्ट छ । निजी क्षेत्रले पाँचौं संस्करणसम्म आयोजना गरेर नाफा भएको १९ लाख रुपैयाँ ट्रस्टमा जम्मा पनि गरेका छन् ।
अहिलेसम्म ट्रस्टले प्रतियोगिता आफैं आयोजना गर्ने इच्छा देखाएको छैन । ट्रस्ट कहिले मैदानको अभाव र कहिले आयोजकको अभाव देखाउँदै पन्छँदै आएको छ । अघिल्लो वर्ष मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अस्थायीफ्लडलाइटको माध्यमबाट खेलाएका थिए ।
त्यसअघि लगातार दुई संस्करण संघकै तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले प्रतियोगिता सञ्चालन गरेका थिए । गत वर्षसम्म मैदानको अभाव भन्दै आएका यहाँका फुटबलका हस्तीहरू अहिले फ्लडलाइटको समस्या देखाउँदै छन् । विराटनगर महानगर र प्रदेश सरकारको लगानीमा यहाँको सहिद मैदानको स्तरोन्नति गरेर गत वर्ष पाँचौं महिला साफ खेल आयोजना गरिएको थियो ।
प्रतियोगिता आयोजना गर्न महानगरले ट्रस्टका नाममा १२ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘१२ लाख रुपैयाँ आर्थिक सहयोग गरेर अरू पक्षमा पनि सहयोग गर्न महानगरपालिका तयार छ,’ महानगर प्रमुख भीम पराजुलीले भने, ‘यति सहयोग गर्दा पनि सम्बन्धित पक्षले प्रतियोगिता आयोजना गर्न नसक्नु भनेको लाजमर्दो हो ।’
प्रदेश सरकारको साढे चार करोड रुपैयाँ बजेटमा सहिद मैदानमा स्थायी फ्लडलाइट जडान हुँदै छ । जडान भएलगत्तै चैतमा डेनाइट म्याच आयोजना गर्ने तयारी भइरहेको ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले बताए । ‘यसपालि जसरी भए पनि एन्फासँग समय माग गरेर प्रतियोगिता आयोजन गरेरै छाड्न विराटनगरका सबै भकुन्डे ट्रस्टमा एक भएका छौं,’ उनले भने, ‘यसपालि आयोजक निजी क्षेत्र नभई ट्रस्ट आफैं बन्ने तयारी गरेका छौं ।’
चैतमा एन्फाको समय खाली भएकाले सहिद मैदानमा डेनाइट म्याच गर्ने उनले उल्लेख गर्दै उनले प्रतियोगितामा श्रीलंका र बंगलादेशका १–१ क्लबलाई पनि ल्याउने प्रयास भइरहेको बताए ।
@Kantipur