फिल जोन्स भित्र्याउने बारे वेस्ट ह्याम बिचार गर्दै

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका इङलिस डिफेन्डर फिल जोन्स माथी अर्का इङलिस क्लब वेस्ट ह्यामको नजर परेको छ। २९ वर्षका इङलिस खेलाडी जोन्सले जनवरी २०२० देखि युनाइटेडका लागि कुनै पनि प्रेमियर लिग खेल खेलेका छैनन्।

युनाइटेडले रियल मड्रिडका स्टार डिफेन्डर राफायल भरान भित्र्याउने पक्का भएपछि जोन्सले क्लबमा खेल समय पाउने सम्भावना झन् न्यून भएकाले उनी पनि क्लब छाड्न इच्छुक हुने देखिएको छ। रिपोर्टका अनुसार उनी हाल युनाइटेडमा हप्ताको १००,००० पाउन्ड पारिश्रमिक लिन्छन्। उनले क्लब छाडे युनाइटेडको आर्थिक भार केही कम हुने भएकाले क्लबले उनलाई क्लब छाड्न दिने सम्भावना देखिएको हो।
२९ वर्षका इङलिस डिफेन्डर जोन्स २०११ मा युनाइटेडमा अनुबन्ध भएका थिए। यस अघि पनि युनाइटेडका खेलाडी जेस्सी लिङ्गार्ड वेस्ट ह्याममा लोनमा अनुबन्ध भइ उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए।