फिफा क्लब विश्वकपको उपाधी लिभरपुललाई

लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । सनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो ।

कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लिभरपुललाई च्याम्पियन बनाउन ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिन्होले गरेको एक गोल नै निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको छैटौ मिनेटमा लिभरपुलका एलेक्सजेन्डर अर्नाेल्डले गोलको मौका खेर फालेको थियो । फ्लामिंगोलले लिभरपुलविरुद्ध बल पोजेसन राखेपनि पहिलो हाफमा गतिलो पोस्ट आक्रमण बुन्न सकेको थिए ।

४७औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको पासमा फिर्मिन्होको प्रहार क्रसबारमा लागेर फर्कदा लिभरपुल अग्रता लिनबाट चक्यो । ५२औं मिनेटमा अर्नाेल्डको ब्याकपासमा फ्लामेंगोका बर्बाेसाले भेट्टाएपनि गोलरक्षक एलिसन बेकरले कुनै गल्ती गरेनन् ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लिभरपुलले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन त्यसपछि दुवै टोलीले केही सुन्दर मौका खेर फाल्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

९९औं मिनेटमा साडियो मानेको पासमा फिर्मिन्होले खाली पोस्टमा गोल गर्दै लिभरपुललाई खेलमा अग्रता दिलाए । उनले रोड्रिगो काइओ र राफिन्हाले बिट गर्दै गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै च्याम्पियन बन्न सफल भयो ।