फाती चम्कदा बार्सिलोनाको फराकिलो जित

बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।

लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेको खेलमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनकाे सुरुवात गरेका हुन् ।

बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे । उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् ।

अंशु फातीले १५ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । जोर्डी अल्बाले उपलब्ध गराएको पासमा फातीले पहिलो गोल गरेका थिए ।

त्यसको चार मिनेपछि फिलिप कौटिन्होको पासमा फातीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोना दोस्रो हाफ खेल्नु अघिनै ४–० को सहज अवस्थामा पुगिसकेको थियो ।

भिल्ला रियलले खेलमा बिरलै आक्रमण बुन्यो । खेलको अन्तिम मिनेटमा उसले बार्सिलोनाको पोस्टमा गतिलो प्रहार गरेको थियो ।