फाइनल खेलेर विश्वकप टुंग्याउन पाउँदा मेस्सी खुसी

लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन् ।

साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप अन्तर्गत गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन् ।

क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ ।

मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन् ।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन् ।

‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन् ।

बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।