एजेन्सी, युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ ।
टुरिनमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० गोल अन्तरले हराएको हो ।
एलिनाज स्टेडियममा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे । मार्कस राषफोर्ड र डानिल जेम्सले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाईटेडको अग्रता २-० को रह्यो ।
६५ औं मिनेटमा राषफोर्डले गोल गर्दा युनाईटेडको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए ।
जितसँगै युनाईटेडले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब युनाईटेडले घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ । दोस्रो लेग फेब्रुअरी २६ मा हुनेछ ।
अर्को चरणमा पुग्न युनाईटेडलाई दोस्रो लेगमा बराबरीले पुग्नेछ ।
सोसिडाडलाई भने फराकिलो जितको आवश्यकता पर्नेछ ।