प्रेरणालाई महिला एकल उपाधि

पोखरामा भइरहेको माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको फाइनलमा भिड्दै उपाधि विजेता प्रेणा कोइराला। तस्बिर : कृष्णमणि बराल

पोखरामा जारी माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधि प्रेणा कोइरालाले जितेकी छन्। पोखरा रंगशालामा आइतबार भएको फाइनल प्रतिस्पर्धामा शीर्ष वरियताकी कोइरालाले सलोनी तामाङमाथि ७-५ र ६-१ को सोझो सेटमा जित निकालेकी हुन्।

मेन्स सिंगलतर्फ संरक्षक भुषण बज्राचार्यले प्रदिप खड्कालाई तथा प्रणव खनालले नविन मगरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। संरक्षणले प्रदिपलाई ६-२, ६-७, ६-१ म जित निकाले। यसै गरी प्रणव खनालले नविन मगरलाई ६-०, ६-४ को सोझो सेटमा जित निकाल्दै पलाइनलमा संरक्षण संगको भेट पक्का गरे।

मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मार्‍यो। प्रदिप खड्का र प्रणव खनालको जोडीमाथि ६-३, ६-३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले सो उपाधी रक्षा गरेको हो।

प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथि डबव्स उपाधि राजु श्रेष्ठ (काठमाडौ) र कमल भण्डारीको जोडीले जितेको छ। सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६-१, ४-६ र सुपरटाईमा १०-६ को कठिन जित निकाल्दै राजु जोडीले सो उपाधिमा आफ्नो नाम लेखाएका हुन्।

४५ वर्ष माथिको डबल्स उपाधि भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रहयो। फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६-३ र ७-६ को नतिजा निकालेका थिए।

यसअघि गोपी ४५ वर्ष माथिको एकल सेमिफाइनलमा विमल गुरुङसंग ६-३, ६-३ को सेटमा पराजित भएका थिए। सोही उमेर समूहको अर्को सेमिमा चन्द्र शाहीले अनु जोनमाथि ६-१, ६-० को नतिजा निकाल्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित पारेका थिए।

५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुप जोडी च्याम्पियन बन्यो। थापा जोडीले समिर शेरचन र अनिल तुलाचनसँगको अन्तिम चुनौती ७-६ र ६-२ ले पार लगाएका हुन्। ६५ वर्षमाथि डबल्स उपाधि दिपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ। फाइनलमा विष्णु गुरुङ्ग र मेजर लक्ष्मीप्रसाद गुरुङको जोडीलाई ४-०, ४-० ले पराजित भए।

@Annapurna Post