प्रिमियर लिग फर्कने पोचेटिनोको चाहना

माउरिसियो पोचेटिनोले आफ्नो प्राथमिकता प्रिमियर लिगमा फर्कनु नै रहेको बताएका छन् ।

टोटेनहमले बर्खास्तको ६ महिनायता उनको यो इच्छा बाहिर आएको हो । उनले साढे ५ महिना टोटेनहममा बिताए र त्यसक्रममा कुनै पनि उपाधि जित्न सकेन ।

तर यी ४८ वर्षीय प्रशिक्षकले टोटेनहमको भाग्य भने फेरे र टिमले गत वर्ष युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो ।

त्यसको एक वर्षभन्दा कम समयमा उनी बर्खास्तगीमा परेका थिए । अर्जेन्टिनी प्रशिक्षकले ६ महिना बिनाकाम बिताइसकेका छन् र अब नयाँ क्लबसँग आबद्ध हुन तयार भएको संकेत दिएका छन् ।

साउदी अरेबियाको लगानी हुन सक्ने न्युकासलको व्यवस्थापक पदका लागि उनलाई बलियो प्रत्याशी मानिएको छ । म्यानचेस्टर युनाइटेडमा पनि उनको सम्भावना रहेको बताइएको छ । पोचेटिनोले भनेका छन्, ‘६ महिनाको अन्तरमा म पूर्णतः ताजा महसुस गरिरहेको छु ।

’उनले थपेका छन्, ‘पछिल्लो सात वर्षयता हामी निकै व्यस्त रह्यौं, विश्रामको मौका नै पाएनौं । त्यसैले मैले आफ्ना सहयोगीलाई यो समयमा के गरेका थियौं, त्यसको विवेचना गर्न भनेको छु ।’

त्यो समयको एकवर्ष पोचेटिनो साउथह्याम्पटनमा थिए । अहिले उनी लन्डनमा बस्छन् र आफूलाई इंग्ल्यान्ड तथा ईपीएल दुवैको माया रहेको पनि बताएका छन् ।

टोटेनहमबाट तलब थाप्न छाडेको कारणले पनि उनलाई अन्य ईपीएल क्लबमा जान सहज छ । उनको भनाइ छ, ‘म अझै पनि भन्छु, ईपीएल विश्वकै सबैभन्दा उत्कृष्ट लिग हो । हामी यस लिगमा खुबै रमाउने गर्छौं । तर मेरोसामु अन्य देश जाने मौका छ ।’ कोरोना भाइरस संक्रमणको महामारीका कारण आफूले यस्तै गर्ने हो  भनेर दाबी गर्न सक्ने अवस्था भने नभएको मान्छन् । उनी कम्तीमा के मान्छन् भने अहिलेको आधुनिक फुटबलमा सबैले कडा मिहिनेत गर्नुपर्छ । त्यतिमात्र होइन, उत्कृष्ट नतिजा निकाल्न पनि उत्तिकै गाह्रो छ ।