प्रिमियर लिगका खेलाडीहरुमा नयाँ कोरोना संक्रमण पाइएन

इंग्लिस प्रिमियर लिग फुटबल यही जुन १७ देखि पुन: संचालन हुँदैछ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रिमियर लिग मार्च १३ देखि स्थागित गरिएको थियो ।

अब पुन: संचालन गर्न अबद्धित सबै क्लबका हरेक खेलाडी तथा पदाधिकारीहरुको स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरुको हप्तामा २ पटक नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

पटक-पटक गरेर अहिलेसम्म ६ हजार २ सय ७४ वटा परिक्षण गरिएकाे छ । जसमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा केही उपचाररत छन् भने कोही निको भइसकेका छन् । तर पछिल्लो पटक गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमाण देखिएको छैन् ।

पछिल्लो अर्थात छैटौं पटकको परिक्षण बिहीबार र शुक्रबार गरिएको थियो । जसमा ११ सय ९५ खेलाडी तथा पदाधिकारीको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

अघिल्लो पटक अर्थात पाँचौ चरणमा गरिएको परीक्षणमा टोटनह्यामका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।