प्रशिक्षक कोजी साफ च्याम्पियनसिपका लागि नेपाल नफर्कने

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतुकु कोजी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने अनिश्चित भएको छ । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरन राईले यसबारे पुष्टी गरेका छन् ।

एन्फा प्रवक्त राईका अनुसार हाल एसियन गेम्स (एसियाड) का लागि इण्डोनेसियामा रहेको नेपाली फुटबल टोलीसँगै कोजी नेपाल नफर्कने बताएका छन् । हालै नेपालको अप्रवासन विभागले निश्चित अवधीभन्दा बढी नेपाल बसेको भन्दै कोजीलाई एक बर्ष नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

विभागको नजिकको स्रोत अनुसार कोजीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न वा निर्णय उल्टाउन कठिन हुने बताउँछन् । यद्यपि एन्फाले कोजीको भिषा प्रक्रियाबारे आवश्यक कदम चाल्ने बताइएको छ ।

त्यस्तै अर्को स्रोतको दावीअनुसार एन्फाले आउँदो साफ च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व कोजीले नै गर्नुपर्नेमा सकारात्मक छ । गोलनेपाललाई प्राप्त जानकारी अनुसार कोजी जापानबाट सिधै बंगलादेश जान सक्नेछन् । साथै उनले टोलीलाई ढाका मै आवश्यक प्रशिक्षण दिने समेत बताइएको छ ।

केही पदाधिकारीहरु भने यसपटक नेपाललाई साफ च्याम्पियनसिपमा नेपाली प्रशिक्षकले नै नेतृत्व प्रदान गर्नुपर्ने पक्षमा छन् । यस बर्षको साफ च्याम्पियनसिपन आउँदो सेप्टेम्बर ४ देखि १५ तारीखसम्म बंगलादेशमा हुन गईरहेको छ ।