प्रशिक्षक अल्मुताइरीलाई नेपाल फर्काउन एन्फाले प्रयास गर्ने

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साफको फाइनल हेर्न जाँदा प्रशिक्षक अब्दुल्लाहसँग राजिनामाको विषयमा छलफल गर्ने र उनलाई नेपालमा फर्काउनका लागि आग्रह गर्ने बताए । उनी नेपाल आउने नआउने भन्ने विषयमा अहिले नै एकिन भन्न नसकेपछि आफुहरुले उनलाई फर्काउनका लागि कोसिस गर्ने र उनको मेन्टालिटीका विषयमा पनि बुझ्ने कोसिस गर्ने बताए ।

बुधबार साँझ नेपाली फुटबल समर्थकका लागि निकै खुसीको दिन बन्यो, कारण नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भयो । साफ फुटबलको २८ बर्षको पर्खाईलाई पुर्णविराम दिएर नेपाली फुटबल टिमले फाइनलमा स्थान बनायो । दशैको बिचमा नेपाली राष्ट्रिय टिमले दिलाएको यो खुसीलाई समर्थकले मनाइरहेका बेला नेपाललाई ऐतिहासिक सफलता दिलाएका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्ुमताइरीले यो प्रतियोगितापछि आफु नेपाल नफर्कने र प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरे ।

बंगलादेशसँग बराबरी खेलेर मैदानमा नै भावुक बनेका अब्दुल्लाह त्यसपछिको पत्रकार सम्मेलनमा भने निकै आक्रोषित रुपमा देखिए । उनले आफुलाई कुनै एक मिडियाले नराम्रो गर्न खोजेको र त्यसले आफु तनावमा रहेको बताए ।

यतिमात्र होइन, आफु कुनै नोकर नभएर प्रशिक्षक भएको र फुटबलको विकाशका लागि नेपाल आएको र त्यसको सम्मान गर्नुपर्ने उनको भनाई थियो । आश्चार्यजनक रुपमा उनले पत्रकार सम्मेलनमा नै यो प्रतियोगिता आफ्ना लागि नेपालसँग अन्तिम हुने भनेर टुंग्याएका थिए । तर अब्दुल्लाहले अचानक आएर यस्तो निर्णय किन गरे भन्दापनि के साच्चै अब्दुल्लाह नेपाल नआउने नै हुन भन्ने प्रश्न सबैको मनमा उब्जिरहेको छ ।

यता पत्रकार सम्मेलनमा अब्दुल्लाहले नेपालको साथ छोड्ने भनिरहेका बेला एन्फा पदाधिकारी भने उनीसँग कुरा गरेरमात्र टुंगोमा पुग्ने बताउछन ।

साफको फाइनल तथा साफको कंग्रेसका लागि नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर आज (विहिबार) राती जाँदैछन् । उनीहरु माल्दिभ्स पुगेपछि प्रशिक्षकसँग छलफल गर्ने भएका छन ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साफको फाइनल हेर्न जाँदा प्रशिक्षक अब्दुल्लाहसँग राजिनामाको विषयमा छलफल गर्ने र उनलाई नेपालमा फर्काउनका लागि आग्रह गर्ने बताए । उनी नेपाल आउने नआउने भन्ने विषयमा अहिले नै एकिन भन्न नसकेपछि आफुहरुले उनलाई फर्काउनका लागि कोसिस गर्ने र उनको मेन्टालिटीका विषयमा पनि बुझ्ने कोसिस गर्ने बताए ।

नेपाललाई एतिहासिक सफलता दिलाएका प्रशिक्षकले अचानक राजिनामा दिँदा यसको मुख्य कारण अझैपनि प्रस्ट भने हुन सकेको छैन । तर उनको चर्चा झन चुलिएका बेला अचानक जाने भन्ने कुराले धेरैलाई आश्चार्यमा भने पारेको छ ।

कतार फुटबल संघको सहयोगमा नेपालको मुख्य प्रशिक्षक भएर आएका अब्दुल्लाहको प्रशिक्षणमा नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा चार खेल जितेको छ भने ६ खेल हारेको छ । दुई खेल बराबरी गरेको छ । उनी प्रशिक्षक भएर आएपछि नेपाली टिमले जोर्डन र अष्ट्रेलिया तथा भारत बाहेक अरु सबै टिमसँग गोल गर्न सफल भएको छ । इराक, ओमान जस्ता टिमसँग पनि नेपालले गोल फर्काएको छ ।

नेपाली टिमलाई अब्दुल्लाहले जुन माइन्डसेटमा राखेका छन, त्यसले सकारात्मक परिवर्तन भइरहेको छ । तर अब उनी यदि एन्फाको आग्रहमा पनि नेपाल नफर्किएको खण्डमा त्यसपछि एन्फालाई यस्तै किसिमको प्रशिक्षक ल्याउने दबाव बढ्नेछ ।

अब्दुल्लाह र एन्फाको सम्झौता डिसेम्बरसम्म रहेको छ । अब नेपालले साफको उपाधिका लागि भारतसँग खेल्दैछ । यदि त्यसमा विजयी भएको खण्डमा एन्फालाई अब्दुल्लाह फर्काउन झन दबाव हुने संभावना छ ।