‘प्रदर्शनबाट निकै खुसी छौँ’ – नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कालिन

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टिम चाईनिज ताईपेविरुद्व १-१ गोलको बराबरी खेलेपछि प्रशिक्षक कालिनले खेलाडीले हृदयबाट नै खेलेको कारण सकारात्मक नतिजा निस्किएको बताए ।

बिहिबार भएको खेलमा पहिलो हाफमा १-० ले पछि परेपनि नेपालले हाफमा गोल गर्दै फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेविरुद्ध बराबरी खेलेको थियो ।

‘हामी निकै खुसी छौँ आजको प्रदर्शनबाट । सुरुवातमा गोल खाएपनि गोल फर्काउन निकै राम्रो हो । यो नेतृत्वमा टिमको यो पहिलो गोल समेत हो,’ खेलपछि प्रशिक्षक कालिनले भने, ‘एक सुन्यले पछि परेपनि पुनरागमनका लागि खेलाडीले निकै राम्रो चरित्र देखाएका छन् । खेलाडीले हृदयबाट खेलेका छन् । यो निकै राम्रो खेल भयो र मलाई लाग्छ यो निष्पक्ष नतिजा थियो ।’

खेलको ३९ औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा अभिषेक रिजालले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

यस्तै प्रशिक्षक कालिनले नेपालको युवा टिम निकै उत्कृष्ट रहेको तर उनीहरुको स्तर सुधार्न समय लाग्ने बताए ।
‘नेपाली फुटबल पछिल्लो केहि बर्ष कठिन अवस्थामा थियो । हामी अघि बढ्नु लामो बाटो तय गर्नुछ,’ कालिनले थपे,’हामीसंग उत्कृष्ट युवा खेलाडी छन् । र, उनीहरुको विकास हुन समय लाग्छ । यो प्रक्रिया चरणबद्द हुनेछ ।’

मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल २-० ले गुमाएपछि प्रशिक्षक कालिनले चाईनिज ताईपेविरुद्व टिममा हेरफेर गरेका थिए । कप्तान तथा डिफेन्डर विराज महर्जन र फरवार्ड नवयुग श्रेष्ठलाई बेञ्चमा राखेका थिए ।

कालिनले अभिषेकलाई एक्लो फरवार्डको रुपमा पहिलो रोजाईमा खेलाएका थिए । जसमा अभिषेकले आफुलाई प्रमाणित समेत गरे ।

खेलपछि अभिषेकले टिमको लागि योगदान दिन पाउँदा खुसी भएको बताए ।

प्रशिक्षकले मलाई विश्वास गर्नु भयो । र, टिमका लागि योगदान दिन पाउँदा म निकै खुसी छु,’ अभिषेकले भने ।

राष्ट्रिय टोलीका लागि अभिषेकको यो पहिलो गोल समेत हो । पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् । अभिषेकले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए ।