‘पोग्बा युनाइटेडमै रहन्छन्’

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरले आफ्ना प्रभावशाली मिडफिल्डर पल पोग्बाले क्लब नछाडने दाबी गरेका छन्। ‘शंका नगर्नुस्, पल पोग्बा यो सिजन म्यानचेस्टर युनाइटेडमै रहन्छन्’, प्रशिक्षक सोल्सकरले भनेका छन्। विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्य पोग्बा इन्टरनेसनल च्याम्पियन्स कपको फाइनल खेलमा टोलीमा उपस्थित थिएनन्। उक्त खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

प्रशिक्षक सोल्सकरले स्वास्थ्य समस्याका कारण २६ वर्षीय पोग्बालाई उक्त खेलमा सहभागी नगराइएको बताए। ‘पोग्बा पिठ्यूँको समस्याबाट पीडित छन् त्यसैले हामीले उनलाई खेलाएर जोखिम मोल्नु उचित ठानेनौं’, एसी मिलानविरुद्घको खेलमा पोग्बालाई नखेलाउनुको कारणबारे प्रशिक्षक सोल्सकरले भने। पोग्बाकै सहमतिमा उनलाई टोलीमा समावेश नगरिएको जानकारी पनि सोल्सकरले दिए।

‘नियमित अभ्यासपछि मैले पोग्बासँग सल्लाह गरेको थिएँ। उनले आफू पूर्णरूपमा स्वस्थ्य नरहेको बताए। उनको पिठ्यूँमा सामान्य पीडा भइरहेको थियो। त्यसैले उनलाई टोलीमा समावेश गरिएन’, उनले भने, ‘नयाँ सिजन सुरु हुनुअघि अनुभवी खेलाडीहरूको चोटलाई लिएर हामी सचेत हुनैपर्छ।’ पछिल्लो समय पोग्बा स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चा पनि चलिरहेको छ।

पोग्बा सन् २०१६ देखि म्यानचेस्टर युनाइटेडमा आबद्ध छन्। त्यसअघि उनले चार वर्ष इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका थिए। युभेन्ट्समा आबद्ध हुनुअघि पनि उनी म्यानचेस्टर युनाइटेडमै थिए। प्रशिक्षक सोल्सकरले अर्को इङ्लिस क्लब लेस्ट सिटीका सेन्टरब्यक ह्यारी माक्विरेलाई छिट्टै क्लबमा भित्र्याउन लागिएको जानकारी पनि दिए। इङ्ल्यान्डका राष्ट्रिय टोलीका खेलाडी ह्यारीलाई आठ करोड पाउन्डमा म्यानचेस्टर युनाइटेड भित्राउन लागिएको हो। २६ वर्षीय ह्यारी सन् २०१७ देखि लेस्टर सिटीमा आबद्ध छन्।