पोग्बाले युनाइटेड छाड्ने सम्भावना न्यून बन्दै

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फ्रेन्च खेलाडी पल पोग्बाले क्लब नछाड्ने सम्भावना दिनानुदिन बलियो देखिदै आएको छ। रिपोर्टका अनुसार उनी युनाइटेडमै रहने र उनको पारिश्रमिक भारी रुपले वृद्धि हुने सम्भावना प्रबल देखिएको छ।

पोग्बा अर्को वर्ष सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र त्यसपछि फ्री ट्रान्सफरमा युनाइटेड छाड्न सक्ने हुँदा यो ट्रान्सफर सिजन युनाइटेडले उनलाई बेच्न सक्ने आंकलन गरिएको थियो। रिपोर्टका अनुसार युनाइटेड भने पोग्बालाई हप्ताको ४११,००० पाउन्ड सम्मको पारिश्रमिक दिने प्रस्ताव गर्ने तैयारीमा छन्। उनको पारिश्रमिक हाल हप्ताको २९०,००० पाउन्ड रहेको बताइएको छ। रिपोर्टका अनुसार स्पेनिश क्लब रियल मड्रिड र फ्रेन्च क्लब पि.एस.जि उनलाई भित्र्याउन इच्छुक छन्।
पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि १९९ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।