पोग्बाले मौरन्हिोलाई दिए ‘धन्यवाद’

म्यानचेष्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बाले क्लबका पूर्व म्यानेजर जोसे मौरिन्होलाई आफ्नो व्यक्तित्व विकासमा सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

मौरिन्होलाई ढाई बर्षप्छि गत मंगलबार मात्र क्लबले म्यानेजरका रुपमा बर्खास्त गरेको थियो । खबरअनुसार मौरिन्होलाई बर्खास्त गर्नुमा उनको पोग्बासँगको खराब सम्बन्धलाई पनि कारण मानिएको थियो ।

स्मरणीय छ कि ओल्ड ट्राफोर्डमा मौरिन्होले आफ्नो पहिलो सिजनमा लिग कप र युरोपा लिग जित्दा पोग्वा टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए ।

पोग्बाका अनुसार अतितमा जे भएपनि उनलाई लाग्छ मौरिन्हो धन्यवादका पात्र छन् । पोग्बा भन्छन्, “हामीले जोसेसँग मिलेर उपाधि जित्यौं । त्यसका लागि म उनलाई धन्यवाद दिन्छु । मेरो व्यक्तित्व विकासमा पनि उनले सहयोग गरे ।

यति हो, त्यो अतित भईसकेको छ । म उनलाई धन्यवाद दिन्छु । मलाई विश्वास छ उनीप्रति अन्य खेलाडीहरुको धारणा पनि मेरो जस्तै छ । अब हामी आगामी खेलका लागि ध्यान केन्द्रित गर्न चाहन्छौं ।”