पोखरामा हुने पिपिएल प्रतियोगिताको तयारी येस्तो रहेको छ

कात्तिक अन्तिम साता पोखरामा शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताका लागि मैदान बनाउने काम सुरु भएको छ।

पोखराको क्रिकेट मैदानमा कात्तिक अन्तिम साता क्रिकेटको फ्रेन्जाईज च्याम्पियनसिप शुरु हुँदै छ । कात्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग सुरु हुनेछ।

पिचको काम दुई हप्तामा सकिने क्युरेटर प्रदिप राउतले जानकारी दिए। उनले आउट फिल्ड भन्दा पनि पहिला पिच बनाउने काम भइरहेको बताए। दुईवटा पिच क्ले हुने र दुई वटा पिच भने हल्का हरियो हुने उनले बताए। उनका अनुसार अहिले आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम भएको छ।

पहिलो संस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिट समेत बनाउने योजना छ। गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो।

जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकिएको छ । झाडी बुट्यान सबै फालिएको छ। मैदान फराकिलो बनेको छ।

विराटनगर टाइटन, बुटबल ब्लास्टस, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। ती कम्पनीले केही दिनभित्रैमा खेलाडी तोक्ने छन्। गत वर्ष पोखरा पल्टनले दुई घरेलु खेलाडीलाई अनुबन्धन गरेको थियो।