पोखरामा फुटबल स्टेडियम निर्माण तीव्र, येस्तो रहेको छ हालको अवस्था

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको काम तीव्र गतिमा सुरु भएको छ । निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय सकिएर एक महिना बितिसक्दा बल्ल निर्माणको कामले तीव्रता पाएको हो । फुटबल स्टेडियम २०७६ असार महिनाभित्र निर्माण सम्पन्न गरेर बुझाइसक्नुपर्ने सयमसीमा राखेर गत फागुन २७ गते शिलान्यास भएको थियो ।

ठेक्का पाएर निर्माणको काम सुरु हुन लाग्दा अख्तियारमा मुद्दा पर्नु, रकम भुक्तानी दुई महिना ढिला हुनुलगायतका कारणले निर्माणको काम ढिला भएको निर्माण कम्पनीले जनाएको छ । बुधबार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटको चिन्ता नगरी काम गर्न निर्देशन दिएका छन् ।

ग्लोबल टेन्डरबाट फुटबल स्टेडियम निर्माणको काम ग्रेट स्पोर्टस इन्फ्रा प्रालि भारत र एमए कन्स्ट्रक्सन प्रालि जावलाखेलले संयुक्त रूपमा पाएका थिए । नेपालमा मंसिर १५ देखि २४ सम्म हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।

स्टेडियम निर्माण ढिलाइकै कारण पोखरा रंगशालामा हुने महिला फुटबल प्रतियोगिता नरोकिने कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले बताए । सागलाई ध्यानमा राखेर निर्माण प्रक्रिया तीव्र बनाइएको उनले बताए ।

सागलाई लक्षित गरी पहिलो चरणमा १० हजार सिट क्षमताको फुटबल स्टेडियम तयार भइसक्ने इन्जिनियर बरालले बताए । बाँकी सम्पूर्ण काम साग सकिएलगत्तै सुरु गरी आगामी फेब्रुअरीभित्र स्टेडियम हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको जानकारी उनले दिए ।

प्यारापिटका सम्पूर्ण सामग्री फ्रान्सबाट चाँडै आइपुग्ने उनले बताए । प्यारापिटको अहिले फाउन्डेसनको काम भइरहेको छ । सामग्री आएलगत्तै फिट गर्न समय नलाग्ने उनले बताए । खेल मैदान निर्माणको काम ढिलाइ हुँदा मंसिरमा हुने १३ औं सागअन्तर्गतका खेल पोखरामा नहुने हो कि भन्ने जिज्ञासामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले पोखरामा हुने भनिएका सम्पूर्ण खेल पूर्वाधारका कारण नरोकिने गरी काम अघि बढाउन निर्देशन दिएको बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम एक अर्ब २८ करोड २२ लाख १८ हजार एक सय ७४ रुपैयाँमा निर्माण भइरहेको छ । फुटबल स्टेडियम १६ हजार पाँच सय क्षमताको हुनेछ । यसलाई १८ हजार एक सय ५० दर्शक बस्न मिल्ने गरी क्षमता बढाउन मिल्ने इन्जिनियर बरालले बताए ।

@Annapurna Post