पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन जग्गा अवलोकन

 नेपालको पर्यटकीय तथा सुन्दर शहर पोखरालाई खेलकुदको राजधानी बनाउने चर्चा चलिरहदा शनिबार पोखरामा केहि सम्भाव्यताको खोजी गर्न लागिएको छ । एकिकृत नमुना मुसहर बस्ती बनाएर चर्चामा रहेको धुर्मुस–सुन्तली फाउण्डेसनको एक टोली शनिबार पोखरा आई केहि सम्भाव्यताको खोजि गरेका छन् ।

सम्भाव्यताको खोजी अभियान अन्र्तगत अन्तर्राष्टिय बहुउद्देश्य क्रिकेट मैदान बनाउने अभियानमा लागेको धुर्मुस–सुन्तली फाउण्डेसनको एक टोलीले पोखरामा जग्गा अवलोकन गरेको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल सहितको पाँच सदस्य एक टोलीले पोखराका विभिन्न क्षेत्रमा रहेको जग्गा अवलोकन गरी पोखरामा मैदान बनाउँदा धेरै हिसावले उपयुक्त हुने जनाएका छन् ।

पोखरा रंगशाला, पोखरा लेखनाथ महानगरपालिका २९ स्थित पशुपतिघाट, पोखरा लेखनाथ महानगरापलिका २५, हेमजा स्थित लामपाटन र पोखरा नगर विकास प्रशिक्षणको क्रिकेट मैदानको अवलोकन गरे पश्चात फाउण्डेसनका अध्यक्ष कट्टेलले पोखरा हरेक हिसावले उपयुक्त रहेको बताए । उनले भने “हामीले जहाँ हेर्दा पनि उतिकै राम्रो लागेको छ, क्रिकेट प्राविधिक खेल भएकोले बिषय विज्ञहरुसंगको सल्लाह र दिगो रुपमा संचालन हुन सक्ने आधारमा हामीले बहुउद्धेश्यीय नमुना स्टेडियम बनाउन खोजेका छौं ।”

सवै खेलको गरिमा उतिकै भएको बताउदै अध्यक्ष कट्टेलले पछिल्लो समयमा नेपाली क्रिकेटले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएकोले यसको सम्भावना देखेर क्रिकेट मैदान बनाउने अभियानमा होमिएको बताए । न्यूनतम २ अर्वको लगानीमा ४० हजार दर्शक क्षमताको उक्त क्रिकेट मैदान बनाउने अठोटका साथ हाल जग्गा खोजिमा आफुहरु रहेको कट्टेलले जनाए ।

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण समितिका संयोजक असोक पालिखेले पोखरा क्षेत्रमा रहेका जग्गाको बारेमा जानकारी गराउदै स्थानिय रुपमा आवश्यक आर्थिक सहयोग जुटाउन समेत तयार रहेको बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा हाल निर्माण भएको क्रिकेट मैदानमा थप जग्गा आवश्यक परे तत्काल उपलब्ध गराउन आफुहरु तयार रहेको बताए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष एवं अम्पायर संजयकान्त सिग्देलले पोखरामा हरेक हिसावले अन्तर्राष्टिय क्रिकेट मैदानको सम्भावना भएको दाबी गरे । पर्यटन व्यवसायी नरेस भट्टराईले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान आवश्यक भएको बताए । उक्त फाउण्डेसनले चासो देखाएर पोखराको जग्गा अवलोकन गर्नु नै पोखराको लागि ठुलो उपलब्धि भएको उनले बताए ।

फाउण्डेसनका टेक्निकल निर्देशक ई. रवि भुषण झाले धेरै ठाँउमा जग्गा हेर्दा भरतपुरमा केहि उपयुक्त लागे पनि अन्तर्राष्टिय विमानस्थल नभएको कारणले गर्दा हाल पोखरामा अन्तर्राष्टिय विमानस्थल समेत निर्माण भईरहेकोले पोखरामा उपयुक्त हन सक्ने बताए ।

पोखरामा हाल करिब एक करोड लागतमा पोखरा रंगशालामा ६५ मिटरको रेडियर हुने गरी अन्तर्राष्टिय क्रिकेट मैदान मात्र निर्माण भएको छ । यद्यपी थप पुर्वाधार आवश्यक भएको देखिन्छ । स्थानिय स्तर र राखेप तथा संघबाट पोखरा रंगशालाको मैदान निमार्ण भएको संयोजक पालिखेले बताए ।

पोखरा रंगशालामा करिब एक सय रोपनी, पशुपतिघाँटमा करिब २ सय रोपनी, नगरविकास प्रशिक्षणमा करिब एक सय २० रोपनी र लामपाटनमा करिब १ सय ५० रोपनी जग्गा रहेको समितिका सदस्य रतन गुरुङले बताए ।

साथै प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापा र कृष्ण थापाले पोखरामा बहुउद्धेश्यीय क्रिकेट मैदान बनाउने बिषयमा प्रदेश सरकार सकरात्मक भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेसनको टोलीलाई शनिबार पोखरामा भेटेका थिए ।

भक्तपुरको चाँगुनारायण, काठमाण्डौंको मुलपानी, कृर्तिपुर, चोभार, रुपन्देही, भैरहवा, भरतपुर, हेटौंडा लगायतका क्षेत्रमा बहुउद्धेश्यीय क्रिकेट मैदानको लागि यस अघि फाउण्डेसनको टोलीले जग्गा अवलोकन गरिसकेको छ । टोलीमा आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरे, फाउण्डेसनकाा टेक्निकल निर्देशक ई. रवि भुषण झा, पत्रकार रवि लामिछाने लगायतको टोलीलाई पोखरेलीहरुले स्वागत गरेका थिए ।