पोखराको फुटबल मैदानप्रति श्रीलंका असन्तुष्टि

१३ औं सागअन्तर्गत महिला फुटबल प्रतियोगितामा भाग लिन आएको श्रीलंका टोलीले पोखरा रंगशालास्थित फुटबल रंगशालामा असन्तुष्टि जनाएको छ ।

मंगलबार महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाले नेपालसँग १–० को हार व्यहोरेपछि उसको असन्तुष्टि सार्वजनिक भएको हो ।

खेलपश्चात पत्रकारसँग कुरा गर्दै श्रीलंका महिला फुटबल टोलीका सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले खेल मैदानभन्दा अभ्यास मैदान राम्रो रहेको प्रतिक्रिया दिइन् ।

‘हामीले नेपाल आइसकेपछि दुई ठाउँमा अभ्यास गर्‍यौं । ती ठाउँ अत्यन्तै राम्रा थिए,’ उनले भनिन्, ‘तर त्यसको अनुपातमा पोखरा फुटबल मैदानको स्तर राम्रो लागेन ।’

सिन्हाले नेपालले छोटो समयमा धेरै काम गर्नुपरेकाले मैदानको स्तर खस्किएको हुन सक्ने बताइन् । उनले भनिन्, ‘समयको हामी ख्याल राख्छौं । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता भएपछि त्यस अनुसारको स्तर भने कायम राख्न सक्नुपर्थ्यो ।’

१३ औं दक्षिण एसियाली (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा श्रीलंका नेपालसँग शून्यका विरुद्ध १ गोलले पराजित भएको छ । खेलपश्चात सहायक प्रशिक्षक सिन्हाले श्रीलंकाले नेपालसँग हारे पनि सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् । नेपालसँगको खेलमा आफ्ना खेलाडीले राम्रो खेल प्रदर्शन गरेको दाबी उनको छ ।

‘खेलअवधिभर हाम्रा खेलाडीले राम्रो खेले । तर, ८८ औं मिनेटमा दूर्भाग्यवश गोल हुन पुग्यो,’ उनले भनिन्, ‘आजको खेल हार्यौं । तर, हामी सन्तुष्ट छौं ।’ उनले आफूहरुको खेल योजना नै डिफेन्समा जोड दिने भएकाले त्यसमा सफल भएको बताइन् ।

उनले भनिन्, ‘अर्को म्याच भारतविरुद्ध हुँदैछ । यो पनि उत्कृष्ट राष्ट्र हो । तर, हामीले कुनै कसर बाँकी राख्ने छैनौं ।’